काठमाडौं। राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियोजनाको सुरुङको काम सुचारु भएको छ । कमजोर भौगर्भिक अवस्थाका कारण सुख्खा पहिरो र पानी खस्ने समस्याका कारण ६० दिनदेखि अवरुद्ध सुरुङको काम शुक्रबारदेखि सामान्यरूपमा सुचारु गरिएको हो ।
सुरुङमा आएको समस्या समाधान गरी १०.५४४ मिटरबाट टनेल बोरिङ मेसिन (टिबिएम) ले सामान्यरूपमा काम सुरु गरिएको परियोजनाले बताएको छ। ‘महाभारत श्रृङ्खलाकोे जटिल एवं प्रतिकुल भौगर्भिक अवस्थाले सुख्खा पहिरो खस्ने र पानी चुहिने समस्या आउँदा विगत २ महिनादेखि परियोजनाको काम रोख्नु परेको थियो। अहिले विज्ञहरूको समूहले अध्ययन गरी समस्याको समाधान गरेपछि काम सुचारु गर्न सफल भएको हो।
परियोजनामा अब २.७ किलोमिटर सुरुङ खन्न बाँकी छ । २०७९ असोज २८ गतेबाट परियोजनाको मुख्य सुरुङ खन्न सुरु गरिएको थियो । नेपालका जलविद्युत तथा अन्य सिँचाइका परियोजनामा परम्परागत प्रविधिबाट सुरुङ निर्माण भए पनि यो परियोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर खनिएको छ । यसअघि भेरी–बबई डाइभर्सन परियोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो ।