उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकाका चार वटा वडालाई लक्षित गरी सिंचाइ कुलो निर्माण गर्न शिलान्यास गरिएको छ। करिब एक करोड लागतमा निर्माण गर्न लागिएको सिंचाइ योजनाको आइतबार कोसी प्रदेशका उपसभामुख सिर्जना दनुवारले शिलान्यास गरेकी हुन्।
खेतीयोग्य जमिन भएर पनि सिँचाइको अभाव झेल्दै आएका वडा नम्बर ६,७,८ र ९ लाई लक्षित गरी ९७ लाख ९८ हजार २९३ रुपैयाँको लागतमा देउराली गुम्बा सिँचाइ योजना सुरु गरिएको हो ।
संघ, प्रदेश, स्थानीय सरकारको ६० प्रतिशत, स्विस सरकारको ३० र उपभोक्ताको १० प्रतिशत लगानीमा ६७५ मिटर लम्बाइ रहेको कुलो निर्माण हुनेछ।
योजना शिलान्यास गर्दै उपसभामुख दनुवारले जनतालाई आर्थिक रुपले आत्मनिर्भर बनाउन सिँचाइ योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।