काठमाडौं। काठमाडौं महानगरपालिकाले चार अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ। महानगरले अर्को व्यवस्था नभएसम्मका लागि आइतबारदेखि चारवटा अस्पतालको फोहर संकलन नगर्ने भएको हो।
महानगरले कलंकी क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर संकलनमा रोक लगाइएको हो।
कामपाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दै फोहोर संकलनमा रोक लगाएको हो।
फोहर संकलनमा रोक लगाइएका अस्पतालहरूलाई सङ्क्रमित फोहर निःसङ्क्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहरमैला व्यवस्थापनका लागि गरिएका प्रतिबद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहर व्यवस्थापनका लागि सहकार्य गरिएका संघसंस्थाहरूको विवरण लिएर तीन दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।