काठमाडौं। महोत्तरी जिल्लाको दुई गाउँ जोडने जंगाहा खोलामा पुल निर्माण हुने भएको छ। उक्त पुल संघीय सरकारको बजेट १४ करोड ५९ लाख लागतमा निर्माण हुने भएको हो।
सो पुलको लम्बाई सय मिटर लामो रहने छ। जंगाहा खोलामा पुल निर्माण हुने भएपछि स्थानीय खुशी भएका छन्। बर्षायाममा खोलाबाट तर्दा कयौंपटक तरकारी बगाएको छ, आवतजावतमा समस्या बनेको छ । अब यस्ता समस्या भोग्न नपर्ने स्थानीयको भनाइ छ।
उक्त पुलको शनिवार पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गरेका हुन्। पुल निर्माण भएपछि बजारको सहज पहुँच हुँदा आर्थिक समृद्धिमा समेत टेवा पुग्न सक्ने स्थानीयले आशा गरेका छन्।
यो पुलवाट ३० हजार मानिस लाभान्वित हुने स्थानिय बताउँछन् । नगरको वडा नं.१, ४, ५, १०, ११ वडाका बासिन्दाको सरल आवतजावतमा योगदान पुर्याउने र किसानलाई विशेष फाइदा पुग्ने बताइएको छ।
मेरना कन्स्ट्रक्सनले ठेक्का पाएको पुल निर्माण एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। सकेसम्म चाडो र गुणस्तरीय काम गर्न झकझक्याएर निर्धारित समयमा नै पुल निर्माण सकाउने उपभोक्ता समितिले बताएको छ।