ताप्लेजुङ। मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुमा निर्माणाधीन २२० केभी क्षमताको कोसी करिडोर विद्युत् सब–स्टेसनको काम ९० प्रतिशत पूरा भएको छ। सबस्टेसनको भवन निर्माण, ट्रान्सफर्मर राख्ने केन्द्रको व्यवस्थापन जस्ता काम सकिएको हो।
सन् २०२० डिसेम्बरसम्ममा सक्ने गरी सन् २०१८ जुनदेखि शुरु भएको कोसी करिडोर कारोनाको कारण देखाउँदै सन् २०२१ डिसेम्बरसम्मलाई म्याद थपिएको थियो। यो अवधिमा पनि नसिकने भएपछि फेरि म्याद थप्ने तयारी भइरहेको छ।
सबस्टेसनमा अब अर्थ कटिङ, फिलिङ तथा अन्य सामान्य कामहरू बाँकी रहेको र त्यो पनि अब ४ महिनाभित्र सकिने बताइएको छ।
ठेक्का सम्झौताअनुसार तेह्रथुमको वसन्तपुरदेखि अहिले निर्माण भइरहेको कोसी करिडोर सब–स्टेसनसम्म लाइन ल्याउनुपर्नेछ। त्यसका लागि आवश्यक १३२ विद्युत् टावरमध्ये ९७ वटा टावरको निर्माण सम्पन्न भइसकेको छ। बाँकी ३५ वटा टावर निर्माण प्रक्रियामा रहेको बताइएको छ।
अहिले निर्माण कम्पनीले दोभानबाट ढुंगेसाँघुको तेल्लाबुङसम्मको ट्रयाक खोल्नुका साथै मदन भण्डारी राजमार्गका ठाउँ–ठाउँमा स्तरोन्नतिको कामसमेत गरेर सामानको ढुवानी गरेको छ।