गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५०, गाउँपालिकाको ४० र स्थानीयबासीको १० प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको उक्त भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रिन (एमबीई) र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले संयुक्तरुपमा उद्घाटन गरेका छन्।
गाउँपालिकाका अध्यक्ष गर्बुजाले पाहार ट्रष्टले भवन निर्माणमा ठूलो योगदान पुर्याएको बताउँदै आगामी दिनमा पनि अन्य विद्यालयमा भवनलगायत पूर्वाधार निर्माण गर्न चाहेमा गाउँपालिकाले साझेदारी गर्ने प्रतिबद्धता जनाए। गाउँपालिकाले दुर्गम बस्तीका विद्यालयमा भवनलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको अध्यक्ष गर्बुजाले बताए ।
पाहार ट्रष्टका इन्जिनियर टेक रानाका अनुसार रु एक करोड २२ लाख तीन हजार दुई सय ६६ लागतमा भवन निर्माण भएको हो । ६१ लाख एक हजार, गाउँपालिकाबाट ५० लाख र स्थानीयबासी ११ लाख एक हजार लगानी भएको ट्रष्टका इन्जिनियर रानाले बताए। विसं २०७८ मङ्सिरदेखि निर्माण थालेको भवनको काम २०७९ साल असोजमा सम्पन्न भएको थियो । वडाअध्यक्ष मिम पुन र समाजसेवी क्याप्टेन जितबहादुर घर्तीले ट्रष्टसँगको सहकार्यमा भीम मावि र गौ बोम बस्त माविमा सुविधासम्पन्न भवन निर्माण भएको बताए ।