सर्लाही। जिल्लाको बागमती नगरपालिकामा निर्माण गरिएको बगैंचाले आम्दानी दिने भएको छ। बुढी बागमती नदी किनारको खेर गएको १२० बिघामा निर्माण गरेको बगैँचाले यस वर्षदेखि आम्दानी दिने भएको हो ।
बगैँचाबाट फलफूल बेचेर दीर्घकालीन आयस्रोत बढाउने र पर्यावरणीय संरक्षणमा जोड दिँदै बगैँचा निर्माण गरेको थियो । गत वर्षदेखि सो बगैचामा रोपिएको आँपले फूल खेलाउन थालेपछि बोटको विकासका लागि फूल हटाइएको कृषि अधिकृत अवधेश कुमार झाले बताए । यस वर्षदेखि उत्पादनमा जोड दिइएको हुँदा करिब ३० प्रतिशत बिरुवाले उत्पदन दिने नगरपालिकाले आशा गरेको छ ।
कृषि अधिकृत झाका अनुसार यस सिजनमा फूल खेलाउने बेला नभएको हुँदा फल्ने बिरुवाको संख्या तलमाथि हुनसक्छ । आन्तरिक आम्दानी, उत्पादन र रोजगारीलाई जोइन नगरपालिकाले खेर गएको बाँझो जमिनमा नगर बणैँचा निर्माण गरेको थियो । यसबाट नगपालिकाको आय वृद्धि हुन्छ भने यहीकै स्थानीयले रोजगारी पाउने नगरपालिकाले जनाएको छ ।
बागमती नगरपालिकाको ३ र ४ मा ३० विघा र वडा नम्बर १२ मा ९० बिघा गरी १२० बिघामा चार वर्ष अघिबाट सुरु गरिएको नगर बगैँचामा अहिले आँपका बिरुवाहरु उत्पादन दिन योग्य भइसकेका हुन् ।