लमजुङ। लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर साढे ६ किलोमिटर खण्डमा कालोपत्र गरिएको छ । तनहुँ डुम्रे बजारबाट २२० मिटर अघिदेखि ८.३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाइएकोमा अहिलेसम्ममा साढे ६ किलोमिटरको काम सकिएको हो ।
यो सडक खण्डमा ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्र भइरहेको डुम्रे–बेँसी–चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ। हालसम्म पाइप कल्भर्ट, स्याल्भ कल्भर्टको काम, सडक चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने काम सम्पन्न भएको छ ।
कार्यालयका अनुसार यस सडकको सो काम २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले २०७७ वैशाख २२ गते सम्झौता गरेको थियो । तर, निर्धारित समयमा काम सम्पन्न हुन सकेन । पुनः म्याद थप गर्दै आगामी असार मसान्तसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्ने आयोजनाले बताएको छ।
डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दुरीमा रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउदी बजारसम्म २४ किलोमिटरको छ । सडकका लागि भ्याट बाहेक ७५ करोड ९४ लाख ९७ हजार रुपैयाँ लागत अनुमान गरिएकोमा उक्त जेभीले ३८ करोड ९ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको कार्यालयले जनाएको छ ।