काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । प्राधिकरण मंगलबार एक सूचना जारी गर्दै भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको जानकारी गराएको हो।
धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको तथा विभिन्न प्राविधिक र सञ्चालनमा आउने कठिनाइले विमानस्थल आवश्यक नरहेको प्राधिकरणको निष्कर्ष छ।
प्राधिकरणका अनुसार तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको र धरानमा निर्माण गरिने भनिएको विमानस्थल उक्त नीति विपरीत हुने भएको छ। आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता भएको र भौगोलिक अवस्थितिको कारणले समेत धरानमा विमानस्थल निर्माण सम्भव नभएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ।