चितवन। ‘भरतपुर भ्रमण वर्ष २०२४’को तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम छ । भ्रमण वर्षमा करीब २ लाख बाह्य तथा ५ लाख आन्तरिक पर्यटक भित्त्याउने लक्ष्य भरतपुर महानगरपालिकाले लिएको छ ।
भ्रमण वर्षको उद्घाटन समारोहमा करीब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको भ्रमण वर्षबारे जानकारी दिन मंगलवार आयोजित पत्रकार सम्मेलनमा महानगरका प्रमुख रेनु दाहालले बताइन् । ‘घुमौं भरतपुर’ नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिति तथा सातसदस्यीय निर्देशन समिति गठन गरिएको छ ।
यसैगरी महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति संलग्न सल्लाहकार समिति र विभिन्न ३० ओटा विषयगत उपसमिति गठन गरी कार्य विभाजनसहित जिम्मेवारी दिइएको छ । भ्रमण वर्षको तयारीका लागि विभिन्न राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवाला सबैसँग पटकपटक छलफल तथा अन्तरक्रिया गरिसकिएको दाहालले बताइन् । भ्रमण वर्षको मुख्य प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ ।