काठमाडौं। स्वदेशी विद्युत् उत्पादन घट्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न सुरु गरेको छ। नदीमा पानीको बहाव घट्न थालेपछि विद्युत् उत्पादन पनि घट्दै गएकाले गर्दा प्राधिकरणले आइतबारदेखि विद्युत् आयात सुरु गरेको हो।
हाल आयात गरिएको विद्युत् विगतमा भारतको बिहार राज्यलाई दिइएको सापटी बिजुलीबाट ल्याउन थालिएको प्राधिकरणले जनाएको छ। आइतबार २०२ मेगावाटरघण्टा मात्र आयात गरिएको छ। तर विगतमा यही समयमा १ हजार ६० मेगावाटरघण्टा निर्यात पनि भएको थियो। प्राधिकरणले गत साउन भदौ र असोजमा बिहारले मागअनुरूपको बिजुली सापटीस्वरूप दिएको थियो तर सापटीको बिजुली आयात गरेर मात्र पुग्ने अवस्था नरहने प्राधिकरणले जनाएको छ।
यस वर्ष उद्योगमा १०० मेगावाटभन्दा धेरै विद्युत् आपूर्ति थपिएको छ। ती उद्योगको ऊर्जा डिमान्डको प्रकृति कस्तो रहला भन्नेमा प्राधिकरणले यकिन गर्नसकेको छैन। अहिलेको अवस्था हेर्दा माग राम्रै हुने प्राधिकरणको अपेक्षा राखेको छ। महामारी कम भएको अवस्थाअनुसार व्यापारिक तथा होटल क्षेत्रमा पनि माग गत वर्षभन्दा धेरै हुने प्राधिकरणको अनुमान रहेको छ। कति सुचारु होलान् वा महामारीको अवस्था के रहने भन्ने हालसम्म यकिन हुन सकेको छैन। यसर्थ त्यो बेलाको परिस्थिति हेरेर विद्युत् आपूर्तिको चुस्त व्यवस्थापन गर्न प्राधिकरण तयार रहेको जनाइएको छ।
स्वदेशी विद्युत् उत्पादन घट्न थालेपछि प्राधिकरणले बिजुली व्यवस्थापनको रणनीति पनि परिवर्तन गरिरहेको छ। भारतबाट आयात सुरु गरे पनि कुलेखानी जलविद्युत् आयोजनाको किफायती प्रयोगलाई अझै निरन्तर गरिरहेको छ। भारतबाट किन्न महँगो पर्ने समयमा कुलेखानी चलाउने, सस्तो पर्ने समयमा बिहारको बिजुली किन्ने प्राधिकरणको योजना रहेको छ। यसैगरी प्राधिकरणले दिउँसोको समयमा बिजुली आयात गर्ने रणनीति बनाएको छ।
आइतबारको विवरणअनुसार प्राधिकरणका आफ्ना आयोजनाबाट ९ हजार ८७२ मेगावाट/घण्टा विद्युत् आपूर्ति भएको छ। त्यस्तै सहायक कम्पनीमार्फत छ हजार २२९ मेगावाट/घण्टा आपूर्ति भइरहेको छ भने निजी प्रवद्र्धकका आयोजनाबाट १० हजार ४९३ मेगावाट/घण्टा विद्युत् आपूर्ति भएको छ।