काठमाडौं। नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली म्याग्दी पुगेको छ।
सोमबार नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को टोली म्याग्दीमा नयाँ पर्यटकीयस्थलको सम्भाव्यता अध्ययनका लागि आएको हो ।
पर्यटन बोर्डको प्रदेश कार्यालयका प्रबन्धक नवीन पोखरेल, नाटाका प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देल, तारा गौतमसहितको टोलीले नयाँ गन्तव्यको अवलोकन, सरोकारवालासँग अन्तक्र्रिया शुरु गरेको छ।
बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने टोड्केबाट नयाँ गन्तव्यको अध्ययन शुरु गरेको नाटाका तारा गौतमले बताए।
टोलीले पर्यटकीयस्थलहरूको निरीक्षण गरेर पर्यटक ल्याउनका लागि प्याकेज बेच्ने गौतमले बताए। टोलीले बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूसँग छलफल गरेको थियो। छलफलका क्रममा पर्यटन बोर्ड गण्डकीका प्रमुख पोखरेलले छोटिएको पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्य खोजी गरिएको बताए।