झापा। पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ । ‘दुई लेन’सडकलाई ४ लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण थालिएको हो।
एसियन राजमार्गमा बिहीबार झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले धुलाबारीमा पूजापाठ गरी रुख कटान सुरुवात गरेका हुन् । सरकारको स्वीकृतिपछि राजमार्गको रुटमा पर्ने रुख काट्न थालिएको ‘डिभिजन’ वन कार्यालयले बताएको छ। एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सितापुरीलाई पूर्वीखण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ ।
पूर्वी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकरभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका ४ हजार ७२३ रुख कटान गर्ने काम सुरु भएको बताइएको छ। निर्माण ठेक्का पाएको कम्पनीले दुई महिनाभित्रमा काँकरभिट्टादेखि केर्खासम्मका रुख कटान गरिसक्ने पनि बताएको छ ।
एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करिब १० अर्बको लगानीमा सम्पन्न हुने गरी एभ्रासकन कालिका जेभीले ठेक्का लिएको छ ।