काठमाडौं। दोलखाको ‘ना’ गाउँ उपत्यकामा ३० किलोवाट क्षमताको सोलार प्लान्ट जडान गरिएको छ। ४ हजार २०० मिटरको उचाइमा रहेको ‘ना’ गाउँमा विद्युतीयकरणका लागि ३० किलोवाट क्षमताको सोलार प्लान्ट राखिएको हो।
गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले गत असोजमा ‘ना’ गाउँ पुगेर सोलार प्लान्टको शिलान्यास गरेका थिए । काम सुरु गरेको ४ महिनामै गाउँमा विद्युत बलेको हो । विद्युत् र टेलिफोन सेवा पुर्याउन चुनौतीको रूपमा रहेको ना गाउँमा नेपाल विद्युत् प्राधिकरणको विद्युत् ल्याउन टाढा भएपछि सोलार प्लान्ट राखेर विद्युतीकरण गरेको हो ।
‘ना’ गाउँ गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा पर्ने रोल्वालिङ उपत्यकामा पर्छ । विश्वको सबैभन्दा ठूलो च्छोरोल्पा हिमताल नजिकैको गाउँ ना हो । यहाँ बढी हिउँ पर्ने हुँदा मंसिरदेखि चैतसम्म यहाँका स्थानीय बेदिङमा बसोबास गर्छन् ।