काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्य जन्मेको तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योजना अघि बढाएका छन्। भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नुबाहेक उल्लेखनीय काम हुन नसकेको उनले बताएका छन्। त्यसैले उनले चुँदी रम्घामा पुर्वाधार निर्माण, प्राकृतिक सौन्दर्यकरणको माध्यमबाट साहित्यिक तथा पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने योजना अघि बढाएका हुन्।
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले भानुजन्मस्थलको साहित्यिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्वर्द्धन र विकासका लागि सरोकारवालाहरुसँग छलफल गरी योजनावद्ध रुपमा काम अघि बढाइने बताएका छन्। यसैगरी चुँदी रम्घालाई आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्ने मन्त्री श्रेष्ठको योजनालाई इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सहयोग गर्ने जानकारी गराइएको छ।
त्यसैगरी फाउन्डेसनका अध्यक्षले रम्घामा आदिकवि भानुभक्तको विश्वकै ठुलो पुर्णकदको सालिक निर्माण गरिने जानकारी दिएका छन्। विकसित मुलुकका प्रतिष्ठित साहित्यकारहरुका स्मृतिलाई संरक्षण गर्ने गरिएको बताउँदै उनले भानुभक्तको परिचय र योगदानलाई जीवन्त राख्न पुर्णकदको सालिक बनाउन लागिएको जनाएका हुन्। तनहुँमा जन्मिएको भएपनि राष्ट्रकै गौरव भएकाले आदिकवि भानुभक्तको सम्झनामा पुर्णकदको सालिक निर्माणको योजना अघि बढाइएको जनाइएको छ।