काठमाडौं। बागलुङको जैमिनी नगरपालिका–१ जैमिनीघाटदेखि पर्वतको फलेवास नगरपालिका–६ जोड्ने गरी कालीगण्डकी नदीमाथि बन्दै गरेको मोटरेवल पुल सम्पन्न हुने चरणमा पुगेको छ। सात वर्षअघि निर्माण सुरु भएको पुलको काम ८० प्रतिशत सम्पन्न भएको हो।
दुई जिल्ला जोड्ने पुल २०७३ असोज ९ गते सम्झौता भएर काम सुरु भएको थियो। निर्माण कम्पनीले कामलाई निरन्तरता नदिँदा अहिलेसम्म काम नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । अहिले थप कामदार परिचालन गरेर काम भइरहेको छ ।
१३ करोड १२ लाख ४९ हजार ३६४ रुपैयाँ लागतमा बन्दै गरेको यो पुलको सम्झौता भए अनुसार २०७५ चैत ९ मा सक्नुपर्नेमा हालसम्म ५ पटक म्याद थप गरिएको छ ।
असार मसान्तसम्म म्याद रहेको हुँदा सरासर काम गरे सकिने स्थिति रहेको आयोजनाले जनाएको छ। पुल निर्माणका लागि र सुवा श्रीगितरफेवा जेभीले जिम्मा लिएको थियो ।