तनहुँ। मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटरमा कालोपत्र सम्पन्न भएको छ। पूर्वी र पश्चिम दुई खण्डमा सडक विस्तार भइरहेकोमा पूर्वी खण्डमा ३२ किमी कालोपत्र भएको हो।
उक्त सडकअन्तर्गत ४ लेनको १२ किलोमिटर र २ लेनको ८ किलोमिटर सडक कालोपत्र गरिएको आयोजनाले जनाएको छ । पहिलो चरणमा ६ सेन्टिमिटरको सडक कालोपत्र गरिएको छ । सडक फाइनल गर्ने समयमा ४ सेन्टिमिटर थप गरी कूल १०।सेन्टिमिटरको सडक कालोपत्र बनाइनेछ । अहिले व्यास–१ को तालघरे र बन्दीपुर–१ स्थित डुम्रे आसपास क्षेत्रमा कालोपत्र कार्यका लागि बेस बिच्छाउने काम भइरहेको छ ।
पूर्वी खण्डमा ४१.७ किलोमिटर दूरी रहेको छ । हालसम्म यस खण्डमा ५० प्रतिशत कार्य प्रगति सम्पन्न भएको छ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ ठेक्का सम्झौता भएको हो।
उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद २०८१ बैशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण कार्य स्थगित भएपछि नेपाल सरकारबाट ६ महिना म्याद थप गर्ने प्रक्रियामा छ।