म्याग्दी। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि १९ गते देखि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन यही फागुन २४ गतेसम्म बिहान ११ देखि अपराह्न ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरिएको हो ।
मालढुङ्गामा पहाड काटेर सडक विस्तार गर्नका लागि सवारी साधन आवतजावत बन्द गरेर डोजर परिचालन गर्न थालिएको बताइएको छ।
सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेको थियो । बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ ।