कैलाली। सुदूरपश्चिमका ५ पर्यटकीय स्थलमा भौतिक पूर्वाधार निर्माणको काम अघि बढाइएको छ । प्रदेशमा पहिचान गरिएका ४७ पर्यटकीय स्थलमध्ये खप्तड, बडीमालिका, अपि हिमाल, गोदावरी धाम र शिवपुरी धाम गरी ५ वटालाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणको काम अघि बढाइएको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार चालू आर्थक वर्ष २०८०/८१ मा पहिचान गरिएका ४७ पर्यटकीय स्थलमध्ये ५ पर्यटकीय स्थललाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरी पूर्वाधार निर्माणको काम अघि बढाइएको छ ।
प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयकाका अनुसार खप्तडमा बीचपानी–त्रिवेणीधामसम्म ४.५ किमी पदमार्गलगायत अन्य संरचना निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा बोलपत्र आह्वान भई कार्यान्वयनको चरणमा गएको छ ।
यसैगरी, बाजुराको बडीमालिकामा पदमार्गसहित मन्दिर परिसरमा रेलिङ निर्माणका लागि ६० लाख रुपैयाँ, दार्चुलाको अपिमा पर्यटकीय भवन निर्माणका लागि ४० लाख रुपैयाँ, कैलालीको गोदावरीधाममा रामजानकी मन्दिर निर्माणका लागि ३० लाख रुपैयाँ र शिवपुरीधाममा ट्रेस निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताइएको छ।