बाँके। नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १५ पिप्रहवा र वडा नं १६ जयसपुरमा पक्की सडक निर्माण गर्न थालिएको छ। उपमहानगरले भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा जमुनाह र जयसपुरगाउँमा पक्की सडक निर्माणको काम सुरु गरेको हो।
पक्की सडक नहुँदा वर्षाका बेला हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्थाको सामना गरिरहेका स्थानीय पक्की सडक बन्ने भएपछि भने हर्षित बनेका छन्।
नेपालगञ्ज–१५ स्थित जमुनाहा गाउँमा मुख्य सडक सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म पुग्ने दुई सय २० मिटर लामो सडकमा कालोपत्र गर्ने कार्य सुरु भएको उपमहानगरपालिकाले जनाएको छ। आगामी जेठ १५ गतेभित्र काम सक्ने गरी एएनडी कन्स्ट्रक्सन ग्रुप बाँकेले ठेक्का पारेको छ ।
४७ लाख ८८ हजार रुपैयाँ लागतमा सडक बत्ती जडान, सडक स्तरोन्नति तथा नालामा ढक्कन हाल्ने काम सम्पन्न हुने उपमहानगरपालिकाले जनाएको छ।
पक्की सडक निर्माणसँगै ४० खम्बामा सडक बत्ती जडान, माटो पटान तथा नालामा ढक्कन हाल्ने योजनाको सुरुआत भएको वछ।
भारतीय सीमा क्षेत्रसँग जोडिएको उपमहानगरपालिका–१६ जयसपुरमा पनि मुख्य सडक जोड्ने फराकिलो पक्की सडक निर्माण प्रक्रिया सुरु भएको छ । जयसपुरस्थित अब्दुल रहमानको घरदेखि पचपोखरा जाने बाटोसम्म पक्की सडक बन्ने भएपछि स्थानीयमा खुसियाली छाएको छ ।