झापा। वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले वन परिसरभित्र भौतिक संरचना नबनाउन निर्देशन दिएका छन्। झापा जिल्लामा सामुदायिक वन परिसरभित्र पर्यटक आकर्षण गर्न धमाधम रूपमा भौतिक संरचना बनाउने प्रतिस्पर्धा भइरहेका बेला वनमन्त्रीले यस्तो कार्यमा रोक लगाउन निर्देशन दिएका हुन्।
पर्यापर्यटन विकास गरेको नाममा सामुदायिक वनहरूले पक्की संरचना बनाउने कार्य नरोके कारबाही गरिने चेतावनी दिँदै उनले यस्तो निर्देशन दिएका हुन्।
मेचीनगर नगरपालिकाको हातेमालो सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत निचाझोडा सिमसार पर्यापर्यटन क्षेत्रको अवलोकन गर्न आइतबार झापा आएका मन्त्री उप्रेतीले सामुदायिक वन क्षेत्रलाई प्राकृतिक रूपमा नै विकास गरिनुपर्ने भन्दै संरचना बनाएर वन क्षेत्रलाई प्रभावित पार्ने काम नगर्न आग्रह गरे।
यहाँ रहेका वन्यजन्तु र चराचुरुङ्गीलाई समेत असर पर्ने गरी र प्राकृतिक सुन्दरतालाई ओझेलमा पार्ने गरी कतिपय क्षेत्रमा पक्की संरचना बनिरहेको प्रति ध्यानकर्षण भएको उनको भनाइ छ। आफूले यस विषयमा डिभिजन वन कार्यालय सम्बन्धित निकायलाई समेत स्पष्ट रूपमा निर्देशन दिइसकेको जानकारी दिए।