उदयपुर। उदयपुरका विभिन्न स्थानमा नियमित प्याराग्लाइडिङ सञ्चालन हुँदै आएका छन् । उदयपुरको त्रियुुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई गाउँपालिकामा गरिएका सबै परीक्षण सफल भएपछि व्यवसायीले नियमित प्याराग्लाइडिङ सञ्चालन गर्न थालेका हुन्।
सफल उडानसँगै जिल्लाको वेलका नगरपालिकामा विगत चार वर्षदेखि सञ्चालित फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुलले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण गरी उडान अभ्यासहरू गराउँदै आएको छ।
नेपालमै पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको प्याराग्लाइडिङ तालिम (एप्पिप्रो एन्ड वर्कस) आइतबार सम्पन्न गरिएको छ । बङ्गलादेश, हङकङ, भारत र नेपालका गरी १९ जना प्याराग्लाइडिङ पाइलटको सहभागिता रहेको १० दिवसीय उक्त तालिममा अल्बानियाबाट आएका प्रमुख प्रशिक्षक युरोपियन नागरिक रोनाल्डले प्याराग्लाइडिङ उडानका लागि उदयपुरको वेलका नेपालकै उत्कृष्ट स्थान भएको र यसको भविष्य उज्यालो रहेको बताए ।
बङ्गलादेश, हङकङ र भारतका विभिन्न स्थान तथा पोखरालगायत नेपालका विभिन्न भागमा प्याराग्लाइडिङ उडान गरिरहेका पाइलटलाई थप सिप र सुरक्षाका लागि यो तालिमको आयोजना गरिएको र यो नेपाली प्याराग्लाइडिङको इतिहासमा धेरै प्रभावकारी भएको उक्त स्कुलले जनाएको छ।
उदयपुरको उत्तरी भेग पहाडी उच्च भूभाग र दक्षिण भेग समथर क्षेत्र भएकाले प्याराग्लाइडिङ उडानका लागि उपयुुक्त मानिन्छ। गाेरखापत्रबाट