काठमाडौं। सडक डिभिजन काठमाडौंले निर्माणाधीन सडकमा आएको समस्यालाई लिएर अतिरञ्जित नगर्न आग्रह गरेको छ । सडक विभाग परिसर हुँदै जाने सडकको हिलाम्मे तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि सडक डिभिजनले विज्ञप्ति जारी गर्दै अतिरञ्जित नगर्न आग्रह गरेको हो।
सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्वीर राखी सामाजिक सञ्जालमा आएका अतिरञ्जित प्रतिक्रियाबारे गम्भीर ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ । शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडेर अतिरञ्जित गर्नु खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ ।
सडकको निर्माणलाई प्राथमिकतामा राखिएको र निर्माण व्यवसायी पनि समय अगावै निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिरहेको सन्दर्भमा निर्माणाधीन सडकमा आएको समस्यालाई लिएर वास्तविकता नबुझी तथा यस किसिमका स्वाभाविक समस्यालाई बुझीबुझी पनि बुझ पचाउने, आफूलाई पूर्वाधार विज्ञ सम्झिने, स्वघोषित विज्ञहरूले भाइरल हुनका निम्ति यस किसिमको हर्कत गर्नु अझ दुर्भाग्य भएको विभागको भनाइ छ ।