दमौली। मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा ५० प्रतिशत प्रगति भएको छ । धमाधम काम भइरहेको उक्त खण्डमा यति प्रगति भएको हो ।
आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ५० प्रतिशत काम सकिएको पूर्वी खण्डले जनाएको छ। पूर्वी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ।
आँबुखैरेनी, बन्दीपुर र व्यास नगरपालिकाका विभिन्न भागमा गरी १२ किलोमिटर दुईतर्फी र ८ किलोमिटर एकतर्फी खण्ड कालोपत्र सकिएको छ ।
आगामी बैशाख मसान्तसम्म दमौली बजारसम्म कालोपत्र गरिसक्ने लक्ष्य लिइएको छ । त्यसका लागि दमौली बजारमा सडक मापदण्डभित्रका घर भत्काउने काम जारी छ । दमौली बजारमा ७५ घरटहरा हटाइनेछ ।
कूल ४१.४५ किमि लम्बाइको यो खण्डमा ३ ठूला र ४ साना पुल निर्माण गरिनेछ। सो खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ बैशाखसम्म रहेको छ ।