म्याग्दी। बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ। बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहरा हटाउन थालेको हो।
आयोजनाले फागुन ११ गते १५ दिने सूचना जारी गर्दै फागुन २५ गतेभित्र संरचना हटाउन आग्रह गरेको थियो। सम्बन्धित घरधनीले घरटहरा र गोठहरूको क्षतिपूर्ति बुुझेर संरचना हटाउन थालेका बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।
सडक छेउमा दुवैतर्फ नाली निर्माण गर्नुपर्ने भएकाले २० वटा घरटहरा, गोठहरूको क्षतिपूर्तिका लागि दुई वर्षअघि सिफारिस गरिएको थियो । गलेश्वरबाट तातोपानी खण्डको अधिकांश ठाउँमा सडक विस्तार र संरचना निर्माणको काम सकेर कालोपत्रको तयारी गरिए पनि तिप्ल्याङ खण्डमा करिब सात सय मिटर सडक विस्तार तथा नाली निर्माणको काम रोकिएको थियो ।
स्थानीयवासीको मागअनुसार प्राविधिक टोलीले पुनःमूल्याङ्कन र क्षतिपूर्तिको रकम संशोधन गरिएको हो । दायाँ र बायाँतर्फ नाली हुने सडक १२ दशमलव पाँच मिटर फराकिलो बनाउन संरचना भत्काउन लागिएको आयोजनाले जनाएको छ।