सुर्खेत। नेपालगन्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी कोरिडोर निर्माण गरिने भएको छ । अव्यवस्थित बसोबास बढ्न थालेपछि नजिकका सहरबिच सहज पहुँच स्थापित गर्न सहरी कोरिडोर निर्माण गर्न लागिएको हो ।
कोरिडोरका लागि अहिले एकीकृत विकास रणनीति तयार पारिँदै छ । त्यसका लागि सरोकारवालासँग छलफल चलिरहेको बताइन्छ । सुर्खेतको वीरेन्द्रनगरमा सहरी कोरिडोर विकासका लागि दीर्घकालीन सोच र रणनीतिक योजनासम्बन्धी छलफल गरिएको छ । सहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले तीन वटा सहर जोडेर सहरी कोरिडोर विकास गर्न लागेको जानकारी दिए । उनका अनुसार नेपालगन्ज–कोहलपुर–सुर्खेतमा सहरी कोरिडोर बन्न लागेको हो । आसपासमा बस्ती विकास हुँदै जाँदा भविष्यमा व्यवस्थित पूर्वाधार विकासमा ठुलो चुनौती हुने देखिएपछि सहरी कोरिडोरको अवधारणा अघि सारिएको मैनालीले जानकारी दिए।
सहरी विकास मन्त्रालयले त्यसका लागि अहिले पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ । एक घण्टाको दुरीमा रहेका साना सहरलाई कसरी आर्थिक आयआर्जनमा जोड्न सकिन्छ भन्ने अध्ययन भइरहेको छ । आर्थिक, सामाजिक, सांस्कृतिक पक्षलगायतको अध्ययन थालिएको छ । यसै आर्थिक वर्षमा पूर्वसम्भाव्यता अध्ययन सकेर अर्को वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिने जनाइएको छ ।गाेरखापत्रबाट