दमौली। मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ। धमाधम काम भइरहेको उक्त खण्डमा यति प्रगति भएको हो ।
पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म पनि कालोपत्रको काम अगाडि बढेको छ । तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्र भइरहेको छ । पोखरा खण्डमा पनि केही दूरीमा कालोपत्र भएको छ । पश्चिम खण्डमा हालसम्म एकतर्फी छ किलोमिटर सडक कालोपत्र भएको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।
यस खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ भदौसम्म छ । यो खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको थियो ।