तनहुँ। गण्डकी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा कालोपत्र सुरु भएको छ । ‘ट्रयाक’ खुलेको २९ वर्षपछि यो सडकमा कालोपत्र गर्न सुरु गरिएको हो ।
गत फागुन ७ गतेदेखि कालोपत्र गर्ने भनिए पनि प्राविधिकका कारण मंगलबारबाट मात्रै काम सुरु गरिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र सुरु गरिएको हो।
जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेडगाउँको सिमानासम्मको ११ किलोमिटर खण्डमा सडक कालोपत्र हुनेछ। अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिन लागिएको हो।
भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा कालोपत्र सुरु गरिएको बताइएको छ।