उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका १० स्थित त्रियुगा नदीमा पक्की पुल निर्माणको काम धमाधम भइरहेको छ। मदन भण्डारी राजमार्गको गाईघाट बेल्टार खण्डको देवधारमा हडिया क्षेत्रलाई जोड्ने गरी पुल निर्माण सुरु भएको हो।
निर्माण व्यवसायीले नै माटो परीक्षण, वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार पार्ने र लागत इष्टमेटका आधारमा बजेट सुनिश्चित भएपछि तोकिएको समयसीमभित्र पुल निर्माण गरिसक्ने गरी डिजाइन स्वीकृत भएकोले हडिया देवधार जोड्ने त्रियुगा पुलको निर्माण सुरु गरिएको छ। सूर्य एण्ड सन्स प्रालि निर्माण कम्पनी धरान सुनसरीले ४० करोड ३४ लाख ८८ हजार लागतमा दुवैतर्फको गरी छ सय ५० मिटर लामो एप्रोच सडकसहितको तीनसय २० मिटर लम्बाइ तथा ११ मिटर चौडाइको उच्च गुणस्तरको दुई लेनको पाएलस फाउण्डेशन डिजाइनमा मोटरेबल पक्की पुल निर्माण गर्न थालेको हो।
निर्माण कम्पनीले ४२ महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिसक्ने गरी २०७९ साल मङ्सिर २१ गते ठेक्का सम्झौता गरेको थियो।