त्रिशूली। नुवाकोटको तादी गाँउपालिका–३ स्थित ‘खरानीटार–दोर्खुखोला सडक योजना’को काम लक्ष्यभन्दा एक महिना अगावै सम्पन्न भएको छ। तादी गाउँपालिकासँग भएको सम्झौता अनुसार गत मङ्सिरदेखि काम सुरु गरेर आगामी चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने समय अगावै सम्पन्न भएको हो।
रोहना कन्स्ट्रक्सनमार्फत गरिएको उक्त सडकको स्तरोन्नतिको काम तोकिएको गुणस्तर अनुसारनै भएको अनुगमनका क्रममा देखिएको तादीका उपाध्यक्ष सञ्जु प्याकुरेलले जानकारी दिए । पालिकाको नियमित अनुगमन, निर्माण व्यवसायीको इमान्दारिताको साथ काममा सक्रियता र सरोकारवाला उपभोक्ताको सहयोगले लक्ष्य अगावै काम पूरा भएको छ ।
सडक स्तरोन्नतिका लागि गाउँपालिकाले एक करोड १२ लाख रुपैयाँ लागतको बोलपत्र आह्वान गरेको थियो । उक्त सडक योजनाको काम ७५ लाख ९१ हजार रुपैयाँमा सम्पन्न भएको उपाध्यक्ष प्याकुरेलले बताए ।
निर्माण कम्पनीका प्रतिनिधि प्रदीप शर्माले समयमै काम सम्पन्न भएकामा खुसी व्यक्त गरे । तादी गाँउपालिका–३ खारनीटारबाट दोर्खुखोला हुदै तादी–१ उर्लेनीसम्म पुग्ने उक्त सडकअन्तर्गत चालु आर्थिक वर्ष २०८०।८१ मा करिब ६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ ।