दमौली। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम १२ प्रतिशत सकिएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने गरी निर्माण भइरहेको यो पुलको यति प्रगति भएको हो ।
पूर्वी खण्डका अनुसार निर्माण कम्पनीले व्यास नगरपालिका–५ स्थित सडक डिभिजन कार्यालय पछाडितर्फको भागमा काम सुरु गरेको छ । पुल निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिइएको बताइएको छ।
यो पुलको ६ वटा स्पान हुने आयोजना कार्यालयले जनाएको छ। ३१५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रू एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ ।
हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।