काठमाडौं। ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ निर्माण सुरु भएको छ। देश तथा विदेशमा रहेका नेपालीबाट संकलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सुरु भएको हो।
मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण सुरु गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्यूटावर निर्माण समितिका अध्यक्षले जानकारी दिएका छन्। देश तथा विदेशमा रहेका नेपालीबाट संकलन भएको ३० लाख रुपैयाँमा भ्यूटावर निर्माण थालिएको हो। यसैगरी ३८ लाख ४ हजार ९ सय रुपैयाँमा लागत अनुमान गरिएको भ्यूटावर निर्माणको ठेक्का साराङकोट निर्माण सेवाले पाएको छ। विसं २०७९ वैशाखभित्र भ्यूटावर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।
सो स्तम्भको सोमबार शिलान्यास गर्दै भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले यसले मिर्छुलुङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताएका छन्। उक्त गाउँमा पर्यटकका लागि घरबास सञ्चालन रहेको छ। सो घरबासमा आउने पर्यटकलाई भ्यूटावरबाट प्राकृतिक दृश्यावलोकन गराउन सके सो क्षेत्रको पर्यटन थप प्रवर्द्धन हुने उनले जनाएका छन्। पर्यटन प्रवर्द्धन गरी स्थानीयवासीको आयआर्जनमा वृद्धि हुनसके मात्र भ्यूटावर निर्माणको औचित्य रहेने उनको भनाइ छ।
यसैगरी नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले नेपालको समृद्धिको आधार नै पर्यटन भएको बताउँदै कोभिडले थलिएको पर्यटन व्यवसाय विस्तार लयमा जान थालेकाले पूर्वाधार निर्माण हुनु सकारात्मक पक्ष रहेको जनाएका छन्। भिमाद र घिरिङलाई जोडेर समग्र पर्यटन प्रवद्र्धन गर्न सहकार्य गर्ने घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताएका छन्।