सुर्खेत। सुर्खेतमा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणको काम सुरू गरिएकाे छ । चालु आर्थिक वर्षमा सङ्घ र प्रदेश सरकारको लगानीमा सडक र विद्युत् विस्तारको काम अघि बढाइएको हो ।
प्रदेश सरकारले खानीजन्य पदार्थ ढुवानीका लागि दश किलोमिटर सडक निर्माण गर्ने भएको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले सडक निर्माणका लागि काम अघि बढाएको हो ।
वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को स्वीकृतिका लागि मन्त्रालयमा फाइल पेस गरिएको छ। इआईए स्वीकृतिको फाइल प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ । सबै प्रक्रिया पूरा गरी इआईए स्वीकृतिको चरणमा रहेको र त्यसपछि अन्य काम अघि बढाइने बताइएकाे छ।
उद्योगसम्म पुग्ने दश किलोमिटर सडक निर्माणका लगि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । बराहताल गाउँपालिका वडा नं. ७ को लखरपाटादेखि मदनभण्डारी राजमार्गको खम्बागाडेसम्म दश किलोमिटर सडक निर्माण गरिनेछ ।
प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले गतवर्ष नै सडक निर्माणका लागि डीपीआर निर्माण गरिसकेको छ। डीपीआर अनुसार एक अर्ब २० करोड लागत अनुमान छ । सडकको ट्रयाक खोल्ने, कच्ची नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्र्भट निर्माण र ग्रावेलसम्मका काम यो वर्ष गरिनेछ । बजेटको स्रोत सुनिश्चितताका लागि फाइल अर्थ मन्त्रालयमा पेस गरिएको छ। राष्ट्रिय वन क्षेत्रमा सडक निर्माण गर्न लागिएको छ । सडक निर्माण गर्दा तीन हजार तीन सय ३७ रुख कटान गर्नुपर्नेछ ।