काठमाडौं। चक्रपथ कुसुन्तीमा लिफ्टसहित अपाङ्गतामैत्री आकाशे पुल बनाउन शिलान्यास गरिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आकाशे पुल निर्माणका लागि शिलान्यास गरेका हुन्।
सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो । आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर पुल निर्माण अनुमति मागेको थियो ।
संविधानले व्यवस्था गरेबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको थियो ।
पुल शिलान्यास कार्यक्रममा महानगर प्रमुख महर्जनले अथक प्रयासपछि सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको बताए ।