काठमाडौं। नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं सांसद विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरुसँग आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै सांसद चौधरीले विकास आयोजना निर्माण कार्यमा विलम्व नगर्न आग्रह गरेका हुन्।
उनले पश्चिम नवलपरासी जिल्लाभित्र सञ्चालित विकास आयोजनाको प्रगति एवं समस्या समाधानका विषयमा सम्बन्धित निकायहरुसँग छलफल गरेका थिए। सांसद चौधरीले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको कामलाई तीव्रता दिनु पर्नेमा जोड दिए । उनले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको काम ढिलासुस्ती गर्न नगर्न निर्माण क्षेत्रलाई आग्रह गरे । उनले जनप्रतिनिधिको हैसियतले सबै भन्दा ठूलो जिम्मेवारी भनेकै विकासका आयोजनाहरु तत्काल समयमा नै सम्पन्न भएको बताए।
उनले ठूला विकासका जनप्रतिनिधिहरुको परियोजना सम्पन्न गर्नका लागि दोहोरो भुमिका रहेको बताए । उनले विकास आयोजना सम्पन्न गर्न सरकारबाट गर्नुपर्ने सहजीकरणमा आफूले निरन्तर समन्वय गर्दै आएको बताए। उनले स्थानीय तह, प्रदेश सरकारसँग निरन्तर समन्वयको काम भइरहेको बताए । उनले के कारणले आयोजनाको काम अपेक्षाकृत हुनसकेको छैन सो विषयमा गम्भीर बन्न जरुरी रहेको बताए। उनले जनप्रतिनिधिको तर्फबाट सहजीकरण गर्न आफू तयार रहेको भन्दै अब विभिन्न बहानामा काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताए।