काठमाडौं। नागार्जुन नगरपालिका–३, हल्चोकस्थित आकाश भैरव मन्दिरबाट आकाश भैरवको मूर्ति चोरी भएको छ।
गएराति १२ देखि साढे १२ बजेको बीचमा मूर्ति चोरी भएको आकाश भैरव मन्दिरका गुठियार अध्यक्ष सागर पुतुवारंकाले जानकारी दिएका छन्। अध्यक्ष पुतुवारंकाका बुबा छपुव पुतुवारंका मन्दिरका पुजारी हुन्। उनी मन्दिरमै बस्ने गर्छन्। मध्यराति चार–पाँच वटा मोटरसाइकलमा आएका व्यक्तिले चूपचाप बस्न धम्की दिंदै मूर्ति चोरेर लगेको कुरा उनले जानकारी दिएका छन्।
इन्द्रजात्राको दिन मुकुट र लुगा लिएर नगरदेवीबाट निस्कने र अन्तिम दिनमा यही मन्दिरमा फर्केर आकाश भैरवको महापूजा गरिने भएकाले सो मूर्तिको निकै महत्त्व रहेको गुठीका सहयोगीले बताएका छन्। भैरवको अर्को स्वरूप नै आकाश भैरव हो। मूर्ति चोरी भएको विषयमा प्रहरीमा उजुरी दिएको अध्यक्ष सागरले जानकारी दिएका छन्। अब के गर्ने भन्ने विषयमा स्थानीय र गुठीका सल्लाहकारसँग छलफल गर्ने उनको भनाइ रहेको छ।
पहिल्यै चोरी भएका भैरवका मास्कहरू मेट्रोपोलिटन, सिकागो, रुबिन्स म्यूजियमको सङ्कलनमा रहेको र फेरि अर्को पनि त्यस्तै मूर्ति हराउनु दुःखद कुरा भएको सम्पदा पुनःस्थापना अभियानका प्रवक्ता रोशन मिश्रले बताएका छन्। साथै चोरी हुने क्रम बढ्नु चुनौतीपुर्ण रहेको उनको भनाइ छ। गत एक महीनामा मात्रै उपत्यकाबाट चार वटा मूर्ति हराएको छ। हाल मूर्ति चोरी हुन नदिन सुरक्षाका उपाय अपनाउन आवश्यक रहेको छ।