लम्की । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेर मात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।
पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए । उनले भने, “हामी घटनास्थलमा राति नै पुगिसकेका छौँ । आज बिहान अर्को प्राविधिकको विशेषज्ञ टोली आउँदैछ । पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरेका छौँ ।”
कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरिएको छ। काठमाडौँ तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न भनिएकाे छ।
कर्णालीको पुुलमा गुड्दै गरेको अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासी आगलागी भएको थियो । लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो चार घण्टापछि राति ९ बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियाे। आगो नियन्त्रणपछि जलेको ट्रकसमेत राति नै लम्कीचुहा नगरपालिकाको डोजर प्रयोग गरी हटाइएको छ ।