दोलखा। सडक सञ्जालले नछोएको उत्तरी दुर्गम गौरीशंकर गाउँपालिका–९ टासिनामका बासिन्दालाई लक्षित गरी तामाकोशी नदीमा झोलुंगे पुल निर्माण भएपछि घण्टौं हिडेर विद्यालय धाउने बालबालिकाको बाध्यता हटेको छ । विगु–१ गोंगर र गौरीशंकर–९ टासिनाम जोड्न तामाकोशी नदीमा झोलुङ्ले पुल बनेसँगै स्थानीयको दैनिकी सहज भएको छ ।
दोलखाको विगु–१ गेंगर र गौरीशंकर–८ टासिनाम जोड्न तामाकोशीमा निमार्ण भएको झोलुङ्गे पुल । पुल बनेसँगै टासिनामका जनतालाई आधारभूत सेवा लिन सहज भएको छ।
तामाकोशी नदीमा पुल नहुँदा टासिनामका स्थानीय ३ घण्टा पैदल हिँडेर स्वास्थ्य सेवा लिन बाध्य थिए । सडक सञ्जाल अभावमा गर्भवतीलाई घण्टौं हिँडाएर प्रसूतिका लागि गोंगर ल्याउनु पर्ने बाध्यता हटेको स्थानीयले बताएका छन् ।
कादुरी एग्रिकल्चर एण्ड एसोशियसनको आर्थिक र ब्रिटिस गोर्खाज नेपालको प्राविधिक सहयोगमा एक करोड २६ लाखमा तामाकोशी नदीमा एक सय ४ मिटर लामो झोलुङ्गे पुल हालिएको हो ।
सोमबार कादुरीका अध्यक्ष माईकल कादुरी र नेपालका लागि बेलायती राजदुत रब फेन उक्त पुलको उद्घाटन गरेका छन् । कादुरीले दुर्गमका जनतासँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका थिए । ‘चारैतिर पहाड विचमा खोला यस्तो भूभागमा सेवाका लागि झोलुङगे पुलले सहजता हुने विश्वास लिएको छु,’ उनले भने, ‘निर्माण भन्दा पनि पुलको संरक्षण महत्वपूर्ण छ, यहाँको विकासका लागि हामी थप प्रयत्न गर्नेछौं ।’
नेपालका लागि बेलायती राजदुत फेनले पुल निमार्णले स्थानीयलाई आवतजावतमा सहज हुने विश्वास लिए । पुल निमार्ण भएसँगै गोंगर र टासिनामको दुरी छोटिएको छ । यस्तै टासिनामबाट विद्यालय जाने बालबालिकाको दुरी पनि छोटिएको गौरीशंकर–९ का अध्यक्ष ङिमगेली शेर्पाले बताए ।
कादुरीले विगु–१ को दुर्गम स्यालुका स्थानीयलाई पनि सहजताका लागि ८० लाख लागतमा गोंगर खोलामा झोलुङ्गे पुल निमार्ण गरिदिएको छ । यस्तै गौरीशंकरको खारेका बासिन्दालाई सहजताका लागि गौरीशंकरको नाजिमटार जोड्न १ सय १२ मिटर लामो झोलुङ्गे पुल १ करोड १६ लाखमा निमार्ण गरिएको गोर्खाज नेपालका पुल विभागका प्रमुख सुन्दरकुमार श्रेष्ठले बताए ।
यस्तै विगु–१ स्यालुका स्थानीयका लागि ९१ वटा धारा निमार्ण गरिदिएको छ । खानोपानीको संकट भोगिरहेका स्थानीयका लागि स्यालुमा धारा निमार्णपछि सहजता भएका विगु–१ क अध्यक्ष मेमबहादुर तामाङले बताए । यस्तै कादुरीले गौरीशंकर–८ भुमेस्थानमा पनि ६१ व्टा धारा निमार्ण गरिदिएको छ । उक्त क्षेत्रमा थप २ झोलुङ्गे पुल र खानेपानी योजनामा काम भैरहेको गोर्खाज नेपालले जनाएको छ । कान्तिपुरबाट