काठमाडौं। नागढुंगा–सिस्नेखोला जोड्ने सुरुङमार्गको काम २३ दिनदेखि ठप्प रहेको छ । स्थानीयले फागुन ६ बाट आयोजनामा अवरोध गरेका कारण काम ठप्प भएको हो ।
स्थानीयवासीले प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने, प्रर्याप्त खानेपानीको व्यवस्था, खेतीयोग्य जमिनमा सिँचाइ व्यवस्था, चर्केको घरको क्षतिपूर्ति, सुरुङमाथिको जमिनको उचित सम्बोधन, प्रभावित क्षेत्रका वासिन्दालाई रोजगारी सुनिश्चितका माग राखेर आन्दोलन गर्दै आएका छन् । आन्दोलनको क्रममा ६ बुँदे माग राख्दै आएका स्थानीले पछिल्लो समय थप माग राखेका छन् ।
सडक विभागअन्र्तगतको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैशीका अनुसार सुरुङमार्ग ब्रेक थ्रु फागुन २३ मा गर्ने गरी आयोजनाले गति लिएको भए पनि पछिल्लो समय स्थानीय अवरोधका कारण सबै काम ठप्प भएको बताए । उनले भने,‘आयोजनाले पुरा गर्न सक्ने स्थानीयले माग राख्दै आएका छन् । वार्ता जारी नै रहेको भए पनि सफल हुन सकेको छैन । मंगलबार विभागीय मन्त्रीसहितको वार्ता राखेका छौं ।’
अनौपचारीक रुपमा धेरै चरणमा वर्ता भए पनि औपचारीक रुपमा भने तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग र सडक विभागमा ३ चरण आयोजनाले आन्दोनरत पक्षसँग वार्ता गरेको भए पनि टुंगो लागेको छैन । सुरुङमार्गमा १४ मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । उनले फागुन २३ मा ‘ब्रेक थ्रुर’ गर्ने भनिएको सुरुङ स्थानीयवासीको अवरोधका कारण काम गर्न सकिएको छैन ।
उपमहानिर्देशक जैशीले भने,‘स्थानीयसँग विभागीय मन्त्रालय र आयोजनासँग वार्ता गरिएको भए पनि टुंगोमा पुग्न सकिएको छैन । आयोजनाको क्षेत्रभित्रका स्थानीयको माग सम्बोधन गर्ने तर आयोजनाको क्षेत्र अधिकार बाहिरको माग भने मातहातका निकायमा सिफरिस गरिएको छ ।’ माग सम्बोधन गर्नको लागि वार्ता जारी रहेको उनले बताए । स्थानीयको माग कहिले सम्बोधन हुने र कहिलेबाट आयोजनाले गति लिने भन्ने बारेमा भने अन्योल कामयै छ ।
आन्दोलनले गर्दा आयोजनाको समय अवधि थप लम्बिने देखिएको छ । अर्कोतर्फ आयोजनाले गति लिन नसक्दा लगानी सम्मेलनको मुखमा अन्तर्राष्ट्रिय स्तरमा नराम्रो सन्देश प्रवाह भएको छ । स्थानीय र आयोजनाको कार्यक्षेत्र हेरेर माग सम्बोधन गर्ने प्रयास रहेको महाशाखाले बताएको छ ।
‘आयोजनाले सम्बोधन गर्न नसक्ने माग स्थानीयले गर्दै काम अवरोध गरिरहेका छन्,’ उपमहानिर्देशक जैशीले भने,‘नयाँ मन्त्रीसँग चाडैं वार्ता गराएर सफल गर्नेतर्फ प्रयासरत छौं ।’ बुधबार मात्र नयाँ मन्त्रीमण्डल गठन भएसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ नियूक्त भएका थिए । मन्त्रीसहितको वार्ता मंगलबार राखिएको छ । आयोजान सुरु गर्दा मन्त्री महासेठ विभागीय मन्त्री थिए ।
नागढुंगा सुरुङमार्ग आयोजान प्रभावित खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोपी सुर्खेतीले भने,‘परापूर्वकालदेखि मुलको पानी खाइरहेकोमा अब त्यसको परिपूर्तिसहित हामीले पानी उपभोग गर्नको लागि माग गरिरहेका छौं’ । आयोजनाले बोरिङ गरेर पानी खुवाएकोलाई भने उनले सकरात्मक रूपमा लिए । तर दीर्गकालीन सुनिश्चिततामा उनले जोड दिए ।
प्राकृतिक पानी वर्षौदेखि निशुल्क खाइरहेकोमा आयोजना आएपछि पानीका स्रोत सुकेको कारण पानीको स्रोत सुनिश्चित हुने गरी आयोजनाले काम नगरेको कारण आन्दोलन गर्नु परेको सुर्खेतीले बताए । काठमाडौैंतर्फ भने चन्द्रागिरी नगरपालिका–२ मा आयोजना अवस्थित छ । २०१९ अक्टोबर २१ मा आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए ।
मन्त्री नियूक्त भएसँगै आन्दोनरत पक्षसँग वार्ता गरी आयोजनाले गति लिने विश्वास लिइएको छ । सरकारी लापरवाहीका कारण सुरुङ निर्माण पूरा गर्ने लक्ष्यपछि धकेलिएको छ । साथै, निर्माण छिटो गराउनेतर्फ सरकारको ध्यान नगएको मात्र नभइ स्थानीयले गर्ने पटक–पटकको अवरोधलाई पनि पन्छाउन सकेको छैन । काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २ हजार ८८८ मिटर लामो छ ।
आयोजना शिलान्यास भएको १४ महिनापछि २०२० डिसेम्बर २२ देखि निर्माण थालिएको थियो । सुरुको लक्ष्य अनुसार काम भएको भए २०२३ अप्रिल २६ मा आयोजना पुरा हुनुपथ्र्यो । आयोजनामा लक्ष्य अनुसार काम नभएपछि आउँदो अप्रिल २५ सम्म म्याद थप गरिएको छ । समयमा काम नहुनुमा कोभिड महामारी, भारतीय नाकाबन्दी र स्थानीयवासीको पटक–पटकको अवरोध थप कारण बनेको छ ।
पछिल्लो थपिएको समय पुरा हुन करिब २ महिनामात्र बाँकी छ । तर, अहिलेसम्म आयोजनाको समग्र भौतिक प्रगति ६९।१५ प्रतिशतमात्रै भएको छ । यो आयोजना जापानको हाज्मा आन्दो कर्पोरेसनले बनाउन सुरु गरेको हो । नेपाल र जापानको करिब २२ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको सुरुङमार्गले थानकोटदेखि धादिङको सिस्ने खोलासम्म जोड्नेछ । काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६८८ मिटर हो ।
यसमध्ये २ हजार ६७४ मिटर सुरुङ खन्ने काम पुरा भएको छ । अर्को निकासी सुरुङमार्गको २५ सय ५७ मिटर सुरुङ खन्ने काम गत साउन २२ मा सकिएको थियो । वर्किङ अडिट १२६ मिटर र क्रस प्यासेज १२८ मिटर खन्ने काम पुरा भएको छ । अहिले मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम भइरहेको छ । मुख्य सुरुङमार्गको १८ सय ५ मिटर कंक्रिट लाइनिङको आधा मात्रै काम पुरा भएको छ । कारोबार दैनिकबाट