लम्की। सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ । टोलीले हिजो कर्णाली पुलको अवलोकन तथा परीक्षण थालेको हो ।
पुलमा आगलागी भएर क्षति भएको जानकारी प्राप्त भएपछि प्रारम्भिक अध्ययन थालिएको पुल महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर कृष्णराज अधिकारीले बताए । उनले भने, “आगलागीबाट भएको क्षतिका साथै पुलको मर्मत सम्भारबारे पनि अध्ययन गर्दैछौँ।”
प्रारम्भिक विवरण आएपछि विज्ञलगायतसँग छलफल र सल्लाह गरी पुलको अवस्था, पुलको क्षतिको विवरण, मर्मत सम्भार गर्नुपर्ने वा के गर्ने भन्नेबारे थाहा हुने बताइएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नं को ट्रकमा सोमबार एक्कासी आगलागी भएको थियो । ट्रकमा लागेको आगो नियन्त्रणमा लिन चार घण्टा बढी समय लागेको थियो । एक हजार एक सय कार्टुन लाइटर बोकेको ट्रक जलेर नष्ट भएको थियो । आगलागीबाट कर्णाली पुलका १४ वटा डोरीमा आंशिक क्षति पुगेको थियो । सन् १९९३ मा कर्णाली पुल निर्माण गरिएको थियो ।