नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीस्थित नमूना सदरमुकामस्थलमा संरचना निर्माणको काम सुरु गरिएको छ। नमूना सदरमुकाममा संरचना निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि रु ५० करोड स्रोत सुनिश्चित गरेपछि संरचना निर्माणको प्रक्रिया सुरु गरिएको हो।
भवन निर्माणका लागि शिलान्यास गरिएको चार वर्षपछि प्रक्रिया अघि बढेको छ।
पहिलो चरणमा सदरमुकामस्थलमा जिल्ला प्रशासन कार्यालयको भवन र अन्य दुईवटा एकीकृत प्रशासनिक भवन निर्माण गर्ने सरोकारवालाको बैठकबाट निर्णय गरिएको छ।
दोस्रो चरणमा जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला कारागार, सुधारगृह, यातायात सेवा कार्यालय, पूर्वाधार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी कार्यालय र अन्य कार्यालयको प्राथमिकताका आधारमा कार्यालय निर्माण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिएकी छन्।
भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माण कार्य अगाडि बढाउन आवश्यक सम्पूर्ण कार्य तत्काल सुरु गर्ने बताइएको छ। जिल्ला प्रशासन कार्यालयसहित दुईवटा एकीकृत सेवा कार्यालय भवन निर्माणका लागि १०–१५ दिनमा बोलपत्र प्रकाशन हुने र त्यसको दुई–अढाई महिनामा भवन निर्माण कार्य सुरु हुने सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले जनाएको छ।