तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–७ पयरेमा रहेको सिद्धेश्वर गुफा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ। पर्यटकीय सम्भावना बोकेको सिद्धेश्वर गुफा प्रचारकै अभावले गुमनाम बन्न पुगेको हो।
अहिले भने यस क्षेत्रको प्रचारप्रसार गरी धार्मिक गन्तव्यस्थल बनाउन स्थानीय जुटेका छन् । गुफाका बारेमा कसैलाई जानकारी नै भएकाले गुमनाम भएको भन्दै स्थानीयले प्रचारप्रसार गर्न सुरु गरेका हुन्। उनीहरुले प्रचारका लागि सामाजिक सञ्जालको समेत प्रयोग गर्ने बताएका छन्। यस क्षेत्रको विकास र प्रचारका लागि स्थानीय सरकारको समेत ध्यानाकर्षण गराउने उनीहरुको भनाइ छ।
स्थानीयले केही दिन अगाडि मात्रै गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्खलगायत आकृतिसहितको संरचना फेला पारेका छन्। गुफाभित्र शिवलिङ्ग भएको बारेमा आफूहरुलाई नै थाहा नभएको उनीहरुले बताए। गुफा अवलोकनका क्रममा उक्त शिवलिङ्ग भेटिएको एक स्थानीयले बताए। शिवलिङ्गको माथिपट्टि रहेको ढुङ्गाबाट आफैँ जल चुहिएर शिवलिङ्गमा तपतप झर्ने गरेको समेत उनले बताए।
स्थानीयले महाशिवरात्रि पर्वका अवसरमा गुफाभित्र रुद्री लगाएर शिवलिङ्गको प्रतिस्थापन समेत गरेका छन् । सो दिन स्थानीय गुफाभित्रै रातभर बत्ती बालेर जागाराम बसेका थिए ।