धनगढी। कैलालीको चिसापानीस्थित कर्णाली पुल अझै सञ्चालनमा आएको छैन । सोमबार साँझ पुलमा आगो लाग्दा सामान्य क्षति भएको पुलमा गाडी चलाउन मिल्ने कि नमिल्ने भन्ने बारे प्राविधिकको अध्ययन जारी रहेकाले पुल अझै सञ्चालनमा आउन नसकेको हो ।
अहिले सुदूरपश्चिम प्रवेश गर्ने र बाहिरिने गाडीहरु हुलाकी राजमार्ग हुँदै चलिरहेका छन् ।
सोमबार दिउँसो वीरगञ्जबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रक पुलमाथि रहेका बेला एक्कासी आगलागी भएको थियो ।
ट्रकमा लागेको आगो पुलका लठ्ठाहरुमा समेत सल्किएपछि सवारीसाधन आवागमनलाई बन्द गराएर सडक विभाग र पुल महाशाखाबाट आएको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरिरहेको छ ।