जुम्ला। जुम्ला–कालिकोटको सीमावर्ती क्षेत्र नाग्ममा निर्माण नसकिँदै चर्किएको पुल करिब दुई वर्षपछि पुननिर्माण गर्न थालिएको छ । ६ वर्षदेखि अधुरो पुल निर्माण नसकिँदै चर्किएपछि भत्काएको झण्डै दुई वर्षपछि पुनर्निर्माण थालिएको हो। २०७९ साल असार पहिलो साता उक्त पुल एकाएक चर्किएको थियो ।
पुलको अन्तिम निर्माणकार्य चलिरहँदा पुल एक्कासि चर्किएपछि भत्काइएको थियो । भत्काएर ५्६ महिनामै निर्माण गरिसक्ने बाचा गरेको ठेकेदारले निर्माण विलम्ब गरेको थियो । पुल निर्माणको ठेक्का पाएको (सूर्य कन्स्ट्रक्सन प्रालि) सुर्खेतले अब आफ्नै निजी खर्चमा पुल पुनर्निर्माण गर्ने भएको छ । हालसम्म पुल निर्माणको भुक्तानी नपाएको निर्माण कम्पनीले आफ्नै लापरबाहीले पुल चर्किएको र निर्माणमा ढिलाइ भएको भन्दै सडक डिभिजन सुर्खेत भुक्तानी दिएको छैन । स्टिमेटअनुसार निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेपछि मात्रै भुक्तानी गरिने जनाएको छ ।
पुलको फाइनल स्टेसिङ गर्दा बीचमै चर्किएपछि निर्माण रोकिएको पुलको पुनर्निर्माण थालिएको सडक डिभिजन सुर्खेतले जनाएको छ । उच्च प्रविधियुक्त अर्थात् ९प्रि–स्ट्रेस० प्रविधिको कर्णालीकै दोस्रो पुल भएकाले सावधानीपूर्वक निर्माण गर्नुपर्नेमा केही कमीकमजोरीले पुल भत्काउनु परे पनि अब चाँडै निर्माण हुने काम अघि बढेको साइट इन्जिनियर अशोक चौधरी बताउँछन् ।
उनी भन्छन्, ‘चर्किएपछि भत्काउनै केही महिना लाग्यो । ०७९ साल असोजमा बेमौसमी वर्षापछि ठूलो बाढी आएपछि काम हुन सकेन । हिउँदको चिसो महिना काम गर्न कठिन छ । निर्माण कम्पनीले हालसम्म भुक्तानी पाएको छैन । ठेकेदार दोहोरो मारमा परेपछि जनशक्ति, निर्माण सामग्री बजेट जुटाउँदै ढिला भयो । अब काम दु्रत गतिमा अघि बढ्छ ।’
कमसल सामग्रीको प्रयोग नभई फाइनल स्ट्रेसिङ अर्थात् ९लडा तान्दा० समस्या आएको कम्पनीको दाबी छ । हाइअल्टिच्युडमा फरक प्रविधिको पुल बनाउँदा अन्तिममा समस्या देखिने विरलै घटना भोग्नु परेको उनको भनाइ छ । पूर्णरूपमा निर्माण सकिएको पुल दुईतर्फका पिल्लरबाहेक माथिका सबै संरचना भत्काइएको छ । अहिले पुनः सुरुबाटै काम सञ्चालन भइरहेको छ । पिल्लरमा भने कुनै समस्या छैन । पक्की पुलबाट यात्रा गर्न उत्साहित भएका नागरिक पुल निर्माण नसकिँदै चर्किंदा निरास छन् । २०६१/६२ सालबाट सञ्चालित जीर्ण बेलिब्रिजबाटै ठूलासाना सवारी जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
उक्त पुलको तीन पटक म्याद थपिसकिएको छ । तर निर्माण कम्पनीको ढिलासुस्ती र कोभिडमा निर्माण रोकिनु, अन्तिममा चर्किनुले निर्माणमा ढिलाइ भएको हो । पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर छ । यो पुल ५० टन लोड धान्ने क्षमता छ । निर्माण कम्पनीले पुल पुनर्निर्माणको काम पुनः थालेपछि स्थानीयबासी उत्साहित भएका छन् । तिला गाउँपालिका–६ का शेर रोकाया पुल निर्माण गुणस्तर बनाउन सबैले चासो दिनुपर्ने बताउँछन् । पुरानै बेलिब्रिजबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेकाले पक्की पुल निर्माणलाई गति दिन सबैले चासो र सम्बन्धित निकायले अनुगमन निरीक्षणमा दिनुपर्ने उनको भनाइ छ । कारोबार दैनिकबाट