बागलुङ। जैमिनी नगरपालिकाको ठूलो क्षेत्र ओगट्ने कृषि सडकको स्तरोन्नति सुरु गरिएको छ। कृषि क्षेत्रको उत्पादनको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले यो सडक स्तरोन्नति सुरु गरिएको हो ।
राम्रो कृषि उत्पादन हुने भू–भाग जोडिएको सो सडकलाई ‘कृषि सडक’ नामकरण गरी स्तरोन्नति सुरु गरिएको जैमिनी नगरपालिकाले जनाएको छ । सो सडकखण्डले नगरपालिकाका ६ वटा वडालाई समेटेको छ ।
कुश्मिसेरा, सकुर्वा, बिनामारे, अर्जेव, जैदी र छिस्ती समेटिएको ४३ किमि सडकलाई पक्की बनाउन बजेट विनियोजनका लागि सङ्घीय सरकारमार्फत दातृ निकायमा स्वीकृतिका लागि पठाइएको नगरपालिकाले जनाएको छ।
सडक स्तरोन्नतिका लागि गतवर्ष घुम्ती सडक ढलान, नाली निर्माण, पहिरो व्यवस्थापन गरिएको थियो भने हाल सकुर्वाबाट अर्जेवातर्फ ३५ लाख रुपैयाँ बिनियोजन भइ स्तरोन्नति भइरहेको छ । साथै छिस्तीतर्फबाट ५५ लाख रुपैयाँ बजेट बिनियोजन भइ स्तरोन्नति भइरहेको छ ।