बागलुङ। बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन सडकले जोडिएका हुन् ।
राष्ट्रिय राजमार्गले नजोडिएको बरेङ गाउँपालिकाले सहज यातायातका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरसँग जोड्नका लागि सडक खुलाएर स्तरोन्नति गर्न थालेको छ। गाउँपालिकाको पश्चिममा मध्यपहाडी लोकमार्ग र पूर्वमा कालीगण्डकी करिडोर पर्छन् । दुवैतर्फ नाका खोलेर यस वर्षदेखि स्तरोन्नतिको काम गर्न थालिएको हो ।
मध्यपहाडी लोकमार्गसँग जोड्न पेरीबाङतर्फबाट एक दशक अगाडि नै ट्रयाक खुले पनि पूर्वमा कालीगण्डकी करिडोरसँग जोड्न उर्लेनीमा गत वर्षमात्रै ट्रयाक खोलिएको थियो । दुई राष्ट्रिय राजमार्गलाई जोड्नका लागि खुलाइएको यो सडक गाउँपालिकाको गौरवको योजना हो । दुवैतर्फबाट सडक जोडिएपछि दक्षिण बागलुङका हजारौँ नागरिकलाई बुटवल, भैरहवालगायतका सहरमा पुग्न सहज हुने भएको छ ।
गाउँपालिकाले दुईतिरैबाट राजमार्ग जोडेपछि सडकलाई स्तरोन्नतिसमेत गर्न थालेको छ । यस सडकलाई स्तरोन्नति गर्नका लागि गाउँपालिको चालु आर्थिक वर्षमा २ करोड २० लाख रुपैयाँ विनियोजन गरेर काम अगाडि बढाएको छ । बरेङसँगै गलकोट क्षेत्रका नागरिकलाई राष्ट्रिय राजमार्गसँग जोडेर यातायातालाई सहज बनाउन यो सडक निर्माण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।