कञ्चनपुर। स्थानीय तह र प्रदेश सरकारले बजेट छुट्याउँदासमेत जिल्लाको मझगाउँ विमानस्थल निर्माण सुरु हुन सकेको छैन। नागरिक उड्डयन प्राधिकरणले वार्षिक बजेट स्वीकृत नभएको भन्दै निर्माण कम्पनीसँग सम्झौता गर्न सकेको छैन।
विमानस्थल विस्तारसँगै कालोपत्र गरेर पक्की निर्माणका लागि भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिकाले ४ करोड १२ लाख र सुदूरपश्चिम प्रदेश सरकारले ८ करोड ७५ लाख गरी १२ करोड ८७ लाख प्राधिकरणलाई पठाइसकेका छन् । तर प्राधिकरणको वार्षिक बजेट स्वीकृत हुन नसक्दा सो विमानस्थलको सम्झौता नभएको हो। गत वर्ष सो विमानस्थलका लागि प्राधिकरणले बहुवर्षीय ठेक्काअन्तर्गत २० लाख बजेट छुट्याएको थियो। अहिले मन्त्री र महानिर्देशक फेरिएसँगै सम्झौता रोकिएको हो।
विमानस्थल निर्माणका लागि गत वर्ष नै कान्छाराम/केएस/उमा एन्ड कम्पनी जेभीका नाममा ४५ करोड ६६ लाख २४ हजारमा ठेक्का स्वीकृत भएको थियो। तर बजेट अभावकै कारण हालसम्म पनि सम्झौता हुन सकेको छैन्।
विमानस्थलको रनवे र पार्किङ एरियालगायतको निर्माणका लागि ठेक्का भएको साथै निर्माणका लागि ३ वर्ष लाग्ने नागरिक उड्डयन प्राधिकरणका निर्देशकले जानकारी दिएका छन्। साथै टर्मिनल भवन निर्माणका लागि पनि अध्ययन भइरहेको उनले जानकारी दिएका छन्। डेढ महिनाअघि सुदूरपश्चिम पुगेका पर्यटनमन्त्री प्रेमबहादुर आलेले दुई दिनमै मझगाउँ विमानस्थल निर्माणका लागि ठेक्का सम्झौता गरिने दाबी गरेका थिए। तर हालसम्म सम्झौता हुन सकेको छैन।
सो विमानस्थलको १५१५ मिटर लम्बाइ र ३० मिटर चौडाइको रनवे निर्माण गरिने भएको छ। विमानस्थलको क्षेत्रफल ६२ बिघा रहेको छ। दक्षिणतर्फ रहेको रत्न बाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्च सुरक्षार्थ नेपाली सेनाको ब्यारेक अन्यत्र सारेर यसको लम्बाइ १६ सय मिटर पुग्ने मझगाउँ विमानस्थलका आयोजना प्रमुखले जानकारी दिएका छन्।
उक्त विमानस्थलको पश्चिमतर्फ बाटो भएका कारण पूर्वतर्फ रनवे बनाउनु पर्ने उनले जनाएका छन्। विमानस्थल निर्माणका लागि करिब ५० करोड खर्च लाग्ने अनुमान गरिएको छ। जसमध्ये २५ प्रतिशत रकम दुई नगरपालिका र प्रदेश सरकारले उपलब्ध गराएका छन्। यसैगरी सम्झौता भएको डेढ वर्षमा रनवे निर्माणको काम सक्ने लक्ष्य राखिएको उनले बताए का छन्।