रामेछाप। रामेछापको मन्थली–चिसापानी–पुरानागाउँ सडक आयोजनाको काममा स्थानीयले निगरानी बढाएका छन्। लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको सडकको स्थानीय नागरिक सङ्घसंस्थाहरूले स्थलगत अनुगमन गरेका हुन्।
आयोजनाको गैरसरकारी संस्था महासङ्घ, रामेछाप उद्योग वाणिज्य सङ्घ, सिर्जनशील युवा समाज, पेसागत महासङ्घ रामेछापलगायतका १० वटा सङ्घसंस्थाले स्थलगत अनुगमन गरेर शुक्रबार मन्थली नगरपालिका–८, चिसापानीमा आयोजित कार्यक्रममा पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख वीरेन्द्रकुमार वज्राचार्यलाई प्रतिवेदन बुझाएका छन् ।
सडक आयोजना समयमा निर्माण सम्पन्न नभएको र निर्माण भएको संरचनाको गुणस्तरमा धेरै ठाउँमा स्थानीयले आशङ्काको प्रश्न उठाए।
यो सडक २०७८ पुस २५ गते कालोपत्रे सम्पन्न गर्ने गरी बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको १७ करोड ८८ लाख लागतमा निर्माण गर्ने गरी रामेछापका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) को कान्छाराम कन्स्ट्रक्सनले २०७७ साल असार २६ गते ठेक्का सम्झौता गरेको थियो। तर हालसम्म पनि कालोपत्रे हुन सकेको छैन ।