पोखरा। होटल संघ पोखरा नेपालले १९ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइड स्थित स्ट्रिट नम्बर १ देखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव आयोजना हुँदै छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली नयाँ बर्षको अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटको घोषणा गरिएको १९ औं फेवा नव बर्ष महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । यही चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अगाडि बढाइएको छ । यही खुसीमा नयाँ बर्षमा पर्यटकलाई होटलका कोठामा छुटको घोषणा गरिएको संयोजक सुवेदीले स्पष्ट पारे ।
संघले विगत दुई दशक अघिदेखी नेपाली नयाँ वर्षको अवसरमा “पर्यटन, संस्कृति र खाना” भन्ने मूल नाराका साथ यो महोत्सव आयोजना गर्दै आइरहेको छ । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि महोत्सवका माध्यमबाट उत्तिकै धुमधामका साथ मनाउने तयारी संघले अगाडी बढाएको हो ।