म्याग्दी। बेनी नगरपालिका–९ गलेश्वरमा फुटपाथसहितको अपाङ्गमैत्री पक्की सडक निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा पदमार्गसहितको अपाङ्गमैत्री पक्की सडक निर्माण गरिएको हो ।
पाँच मिटर चौडाइ भएको १२५ मिटर लामो सडक ढलान गरिएको छ। सडकको डिलतर्फ रेलिङ र स्लेट ढुङ्गा बिछ्याएर पैदलमार्ग बनाइएको छ। साँघुरो र उकालो ग्रेड नमिलेको सडकलाई भित्ता काट्ने, पर्खाल बनाएर फराकिलो र ग्रेड मिलाइएको छ । सडक बनेपछि गलेश्वरको खेलमैदान र सभाहलसम्म सवारी साधन लैजान सकिने भएको छ ।
४२ लाख ६७ हजार २३९ को लागतमा सडक र पदमार्ग निर्माण भएको उपभोक्ता समितिले जानकारी दिएको छ। यो योजनाका लागि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट ४० लाख बजेट विनियोजन भएको थियो भने उपभोक्ताको तर्फबाट चार लाख २७ हजार २३९ बराबरको लागत साझेदारी भएको छ ।